• पूर्वी दक्षिणी झापामा भारतीय नागरिकको दादागिरी, प्रहरी हवल्दार घाइते – Janaandolan.com
  • Home / समाचार / पूर्वी दक्षिणी झापामा भारतीय नागरिकको दादागिरी, प्रहरी हवल्दार घाइते

    पूर्वी दक्षिणी झापामा भारतीय नागरिकको दादागिरी, प्रहरी हवल्दार घाइते

    भद्रपुर १० जेठ । पूर्वी दक्षिणी झापाको कचनकवलमा दोश्रोपटक भारतीय नागरिकले सीमा रक्षक सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । दर्जन हाराहारी भारतीयले नेपाली भूमिमा जवरजस्ती प्रवेश गर्न खोजेपछि भारतीय नागरिकलाई सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले रोक्न खोज्दा आक्रमण गरेका हुन् ।
    कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा खटिएका सशस्त्रका हवल्दार शंकर चौधरीमाथि साङ्घातिक हमला गर्दा टाउकोमा चोट लागेको छ । पोस्ट रहेको स्थान पारी भारतीय बस्ती गिलावारी पर्छ । गिलावारीका स्थानीयले नेपाललतिरको भूमिमा मकैखेती गरेका कारण खेती हेर्न नेपाल प्रवेश गर्न भारतीयले बल प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् ।
    त्यहाँका ५÷७ जना भारतीय नागरिक शुक्रवार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नु भनी सम्झाउन खोजेका थिए । किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलौज गर्दै एक्कासी बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेको जनाइएको छ ।
    सोही क्रममा दुवै पक्ष बीच सामान्य झडप भएपछि थप ५० बढी भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको स्थानीय समाजसेवी भूमिप्रसाद राजवंशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा हात र टाउकोमा चोट लागेको छ । भारतीय नागरिकको आक्रमणपछि सो स्थान असान्त हुने देखिदा भारतीय गाउँ पञ्चायतको मुखियालाई बोलाएर आफ्ना पक्षका कमजोरी सच्याउन अनुरोध गरेर पठाइएको राजवंशीले जानकारी दिए ।
    ‘थप नेपाली सुरक्षाकर्मी घटनास्थल आइपुगेका थिए भने भारतीय एसएसबी पनि आएका थिए ।’ घटना पश्चात् नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको दशगजामा छलफल गरेर फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको राजवंशीले बताएका छन् ।
    गत जेठ ३ गते बेलुका पनि गाउँपालिका १ घेरावारीस्थित १२५ र १० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । भारतीय नागरिकले आक्रमण गरेपछि गाउँवासीसहित सशस्त्र प्रहरी प्रतिकार उत्रिएपछि उनीहरू भागे थिए । आक्रमणबाट बच्न सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेका थिए । यसअघि पनि कचनकवलको घेरावारिको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन् ।

    About jana

    Check Also

    रोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री

    झापा १४ जेठ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *