Homeमनोरञ्जन‘इन्द्रेणी’ लाई नियाल्दा

‘इन्द्रेणी’ लाई नियाल्दा

कृति समिक्षा
इन्दु पूर्वेली
‘अरुलाई खुशी पार्दापार्दै आफ्नो खुसी खोसिएको पत्तै भएन’–केहीदिन अघि सामाजिक सञ्जालमा एक किशोरीको स्टाटस आयो । नाम याद गरिएन, तर यो स्टाटसले मन चाहिं छोयो । साँच्चै अधिकांश महिलाको मर्म बोले झैं लाग्यो–छोटो स्टाटसले । जन्मनेवित्तिकैदेखि बाबु आमाको संरक्षण, हुर्कदै बढ्दै जाँदा परिवार÷समाजको निगरानी र विवाहपछि श्रीमानको स्वीकृति लिएर बाहिरी दुनियासँग घुलमेल हुन पाइने हाम्रो सामाजिक संरचना । यो संरचना समाजका केही अगुवा महिलाका लागि इतिहास वा विगत भइसक्यो होला । तर धेरै महिलाहरु अहिले पनि यही संरचनाभित्र जन्मी हुर्की बरिहेका छन् भन्दा अत्युक्ति हुँदैन । अनि विवाहअघिसम्म माइतिको सभ्यता, संस्कार र परम्परानुकुल चल्नुपर्ने र विवाहपछि देख्दै नदेखेको पराई मानिस र उसका आफन्तहरुलाई रिझाएर घरजम गर्दै जीवन काट्नुपर्ने चेलीहरुको कथा अर्थात् गृहिणी महिलाको जीवनकथा साहित्य बन्ला ? यो प्रश्नको जवाफ दिएको छ–झापा धुलाबारीका महिलाहरुले प्रकाशन गरेको साहित्यिक कृति ‘इन्द्रेणी’ले ।
किसोरावस्थादेखि लगभग ६० बर्ष उमेर पार गर्न लागिसकेका महिलाहरुको पहल र प्रयत्नमा इन्द्रेणी साहित्यिक महिला समूह गठन गरेर सोही समूहको अगुवाईमा स्थापनाको लगभग डेढबर्षे अवधिमा समूहले मुखपत्रस्वरुप ‘इन्द्रेणी’ प्रकाशनमा ल्यायो । इन्द्रेणी प्रकाशनका लागि गृहस्थ आश्रममा रहेका सामान्य लेखपढ गर्न जान्नेदेखि समाजमा स्थापित र अगुवा महिलासम्मको साहित्यिक सिर्जना, अनुभव र अनुभूतिहरुलाई समेटेर १२३ पृष्ठको पुस्तक तयार पारिएको छ । जसमा पुस्तक प्रकाशनका लागि स्रोत जुटाउने उद्देश्यले हुनसक्छ–लगभग ४० वटा सूचना, विज्ञापन र २७ वटा सामाछोटा गद्यात्मक लेख रचनाहरु समेटिएका छन् ।
कृतिभित्र संस्मरण, समसामयिक विषयवस्तु, राजनीतिक इतिहास, कथा, नियात्रा, सामाजिक, शिक्षा, ब्यक्तित्वचर्चा, जीवनका अन्य अनुभव र अनुभूतिहरु समेटिएका छन् । जसमध्ये संस्मरणात्मक ४ वटा, समसामयिक विषयवस्तुको उठान गरिएका २, राजनीतिक इतिहास १, सामाजिक विषयवस्तु समेटिएका ३, नियात्रासम्बन्धि ५, शिक्षा–३, ब्यक्तित्वचर्चा १ र केही संस्मरणात्मक र केही जीवन जिउने क्रममा अनुभव र अनुभूति गरिएका ६ वटा रचना कृतिभित्र छन् ।
नेपाली समाज विचित्रको छ, कसैसँग २÷४ हजार पैसा सापटी माग्यो भने दिन्छ कि दिदैन, वा के शर्त राख्छ ? त्यो ब्यक्तिपिच्छे फरक पर्न सक्छ । तर महिला मात्र त्यस्तो चिज हो–जो माग्नेवित्तिकै विना शुल्क पाइन्छ । त्यसमा एकमात्र शर्त रहन्छ–अविवाहित केटा हुनुप¥यो । कोसौं टाढादेखि आफूलाई माग्न गएको लक्का जवानले ‘म छोरी माग्न आएको, एउटा खुट्टा जेलमा छ, एउटा खुट्टा नेपाली भूमिमा छ’ भनेर हाक्काहाक्की गफ गरेकै भरमा बाबुले छोरी दिने निर्णय गरेको र पारिवारिक संस्कार, संस्कृति र आदर्शका कारण बाबुको निर्णयमा आफू र आफ्नी आमा बोल्नै नसकेको मार्मिक प्रसङ्ग छ–लीना भण्डारीको मेरो सपनाको थलो शीर्षकको लेखमा । नाताले अग्रज पत्रकार चन्द्र भण्डारीकी श्रीमती रहनुभएकी लीनाले दूरदेशमा रहेको माइतीगाउँको सम्झना र राष्ट्रियतालाई समेत मार्मिक रुपमै प्रस्तुत गर्नुभएको छ ।
किसोरावस्थामा प्रवेश गर्दै गरेकी आरोही ढुङ्गानाले आफ्नो जीवनमा प्राप्त गरेका तीन अवसरका विषयमा रोचक प्रस्तुति राखेकी छन् । अवसरले क्रमशः उन्नतिपथमा लम्काउँछ भन्ने सन्देश प्रवाहित छ ।
त्यसो त राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका आफ्ना श्रीमान (याम भण्डारी) पक्राउ परेको, पक्राउपछि इलाम जेलमा राखिएको, झापाको खुदुनाबारीदेखि इलामको नाम्सालिङ हुँदै हिडेरै श्रीमान भेट्नका लागि इलाम पुगेको, अनि जीउभरी देखिएका नीलडामले आफूमा उत्पन्न विश्रृङ्खता र पुनः जेलमै छाडेर आउदा चोरले लखेटेको प्रसङ्ग छ–सन्ध्या भण्डारीको पीडामय ती क्षणमा । नियात्राजस्तो पनि लाग्ने उहाँको लेख बढी संस्मरणात्मक कम यात्रा प्रसङ्ग झैं लाग्छन् ।
आफूले जीवनमा भोगेका अनुभव र मनोभावना भीमा प्रसाईका सुखदुःखका अनुभुतिभित्र छन् ।
सुन्दा सामान्य झैं लाग्छ, पिसाव फेर्ने कुरा । तर देशलाई नै खुल्ला दिशामुक्त घोषणा गरिरहँदा सार्वजनिक होस् या निजी सवारी साधनमा लामो यात्रा गर्ने यात्रुले पिशाव फेर्नका लागि सार्वजनिक सौचालय नहुँदा भोग्नुपरेको शास्ती, त्यसले मानव स्वास्थ्यमा पार्ने असर र यसको जवाफदेहिता सरकारमा हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ–अम्बिका भण्डारीको ‘सरकार कहाँ पिसाव फेर्नु ?’ शीर्षकको लेखले । चण्डिका बानियाद्वारा लिखित मेरो कथा शीर्षकको लेखले धनाढ्य परिवारमा हुर्किएकी छोरीले सामान्य परिवारका ब्यक्तिसँग विवाह गरेपछि भोग्नुपर्ने पीडा उल्लेख गरिएका छन् ।
राजनीतिक आस्थाका आधारमा गरिने सामाजिक विभेद निकै थियो–विगतमा । इतिहास सुन्ने हो भने कांग्रेस र कम्युनिष्ट आस्थाका मानिस छिमेकी भएपनि पानी बाराबारको स्थिति थियो । समाजको त्यस प्रवृत्तिले भर्खर ८÷१० कक्षामा पढ्दै गरेका बालबालिकाको मानसिकतामा कस्तो मानसिक असर पार्छ भन्ने २०५१ सालको निर्वाचनताकाको प्रसङ्ग छ–अमृता चौंलागाईं पाठकको सम्झनामा त्यो दिन शीर्षकको आलेखमा । राजनीतिक तर्कना, त्यहीबाट विद्यार्थीबीचमा हुने विवाद र आग्रह–पूर्वाग्रहकै आधारमा पढ्ने र नपढ्ने धारणा बनिने प्रसङ्गको चर्चा गरिएको छ ।
कृतिभित्र सामाजिक विषयवस्तु समेटिएका तीनवटा सिर्जना छन् । झुमा पौडेलको मलाई बच्चा छुन दिदैनथे, खिलु खनालको बोक्सीको वात र निलु शर्माको ‘मेरो वाल्यकालको कुनै एक पल’ शीर्षकका रचनाहरुले बच्चा मरेकी महिलालाई बच्चा छुनै नदिने सामाजिक प्रचलन, मोच मार्ने अन्धविश्वासको चर्चा छ भने ‘बोक्सी’ शब्दले महिलाको स्वाभीमानमा पु¥याउने चोट, सामाजिक जीवनमा पार्ने असर र मानसिक पीडाको चर्चा छ । साथै रक्स्याहा श्रीमानले श्रीमतीमाथि गर्ने दुब्र्यवहार र त्यसले बाल मानसिकतामा पार्ने असरको चर्चाले हाम्रो सामाजिक संस्कार र रक्सीको मातमा पुरुषत्व देखाउन खोज्ने पुरुषहरुको अभिमानबाट घरायसी वातावरण र बालबालिकामा पर्ने असरको उठान गरेको छ ।
विमला चिमरियाको यात्रा संस्मरण र नमूना निरौलाको मेरो नाङ्रुम शीर्षकको यात्रा संस्मरणले नेपालको पश्चिमी भूभागको सामाजिक, राजनीतिक तथा महिलाहरुको राजनीतिक चेतलाई उठाएको छ । शैक्षिक सिलसिलामा इलामको नाङ्रुम जाँदाको प्रसङ्ग मेरो नाङ्रुमभित्र छ ।
नियात्रा समेटिएका पाँचवटा रचनामध्ये गीता निरौलाको चेन्नई भ्रमण, गोमा सुवेदीको चारधाम यात्रा संस्मरण र गोमा सुवेदीको कुम्भमेलाको यात्रा संस्मरणमा यात्राका क्रममा तत्तत् स्थानमा देखिएका पर्यटकीय स्थल, समुद्रीतटको आनन्द, सपिङ कम्प्लेक्स आदिको चर्चा पाइन्छन् ।
झरना अधिकारीको विगतलाई नियाली हेर्दा, खड्गकुमारी तिम्सिनाको जागिरे जीवनको शुरुवात, मुना राणाको स्मृतिको आँखीझ्यालबाट ठुलीआमालाई चिहाउँदा शीर्षकको सिर्जनामा शैक्षिक विषयवस्तु समेटिएका छन् । आफूले शिक्षा ग्रहण गरेको विषय होस्, अध्यापन गराएको विषय होस् वा शिक्षक नियुक्तिका प्रसङ्ग हुन्, यी तिनै लेखले सरकारी विद्यालयमा शिक्षक नियुक्तिमा देखिने नातावाद, कृपावाद, राजनीतिकरण र शैक्षिक स्तर खस्कदै गएको विषयलाई उठाएका छन् ।
कविता शर्माले मेरो आदर्शः मेरो गुरु शीर्षकमा साहित्यकार रोहिणीविलास लुइटेलले महिलाहरुलाई वेद, रुद्री र चण्डीजस्ता पूर्वीय सभ्यता र संस्कार बोकेका वैदिक ग्रन्थहरु पढाउन गरेको पहलको विषयसहित ब्यक्तित्व चर्चा गर्नुभएको छ ।
यसैगरी अञ्जु बानियाको सफल दम्पत्ति र मिरा काफ्लेको सानी शीर्षक कथा हुन् । यी कथामा परम्परा पनि मान्ने र आधुनिकतातिर पनि ढल्किएको परिवारमा कान्छी छोरीको भूमिकामा रहेकी सानीको वाल्यकाल, शिक्षा ग्रहणको चर्चासँगै विवाहसम्मको प्रसङ्ग छ । जुन कथामा शैक्षिक विकृति, विसंगतीको चर्चा पनि यथेष्ट छ ।
आधाजसो संस्मरण झैं लाग्ने र आधाजसो लेखकको जीवनभोगाईका क्रममा उद्वेलित मनोभावनालाई समेटिएका ६ वटा सिर्जनाहरु कृतिभित्र संग्रहित छन् । भूवन सुब्बाको विश्रृङ्खल प्रसङ्ग लीला लेखनको नजिक देखिन्छ । साजना तामाङले गोरुको हराएको शाखभित्र कृषि कर्म, भारी बोक्नेदेखि लिएर यातायातसम्मका बहुप्रयोजनमा आउने गोरुको खस्कँदो साखको प्रसङ्ग उठाउनुभएको छ । गोरुलाई प्रतिकात्मक अर्थमा लिने हो भने हिजो जनताका हरेक समस्यामा साथ दिने जनप्रतिनिधिहरु अहिले समस्या समाधानमा पनि कसरी आर्थिक स्तर उकास्ने भन्ने रुझानमा अल्झिएर आफ्नो शाख गिराइरहेको प्रसङ्ग बुझ्न गारो पर्दैन ।
कल्पना ओली सिटौलाको मन्त्रले फुकेको सन्ठी र सरस्वती सिटौलाको म सानो छँदाको दशैं शीर्षकका सिर्जनाभित्र बाल मानसिकताको राम्रो चर्चा छ । बाल मस्तिष्कमा कुकुरदेखि लाग्ने डर, अनि बालसुलभ चञ्चलताको प्रयोग गरेर अर्कालाई दिइने दुःख अनि मन्त्रप्रतिको विश्वासका विषय मन्त्रले फुकेको सन्ठीभित्र छन् । केटाकेटी छँदा दशैंमा लगाइने नयाँ लुगा, बालपनमा अनुभव गरिने दशैं र अहिले कर्तब्यपालना तथा दायित्वबोधसहित मनाइने दशैंबीचको अन्तरलाई म सानो छँदाको दशैंभित्र केलाईएको छ ।
रोजिना घिमिरेले प्रशिक्षणको अन्तिमदिनभित्र कञ्चनजंघा एफ.एम.ले उद्घोषण तालिम दिएको प्रसङ्ग र त्यसले आफूमा पारेको प्रभावको उठान गर्नुभएको छ भने मेरो विगत मेरो वर्तमानभित्र उमा दाहालले फरक क्षमता भएका वा अपाङ्गता भएका ब्यक्तिको यथार्थको उठान गर्नुभएको छ ।
कृतिभित्र खासै कमजोरी छैनन् । तर समालोचकीय धर्म निर्वाह गर्दैगर्दा कृतिभित्रका केही कमीकमजोरीलाई पनि औंल्याउनैपर्छ । कृतिभित्र केही ब्याकरणिक त्रुटी, भाषा संयोजन र वाक्यगठनबीचमा वैयाकरणिक तालमेल केही ठाउँमा नमिलेको भान हुन्छ । ‘सिजन लागेपछि फूल नभएको ठाउँमा भमरा आउँछन् झैं कताकताबाट सानीलाई माग्न पनि आउँथे।’ –पेज–७३) वाक्य संयोजनमा भएको त्रुटीले अनर्थ लागेको उदाहरणका रुपमा लिन सकिन्छ भने व्याकरणिक केही असुद्धता भेटिन्छन् । फेरि स्त्रीलिङ्ग, पुलिङ्ग, तँ, तिमी, तपाई, हजुरजस्ता शब्दको प्रयोगबाट सुन्दर भाषिक संयोजन गर्न सकिने हाम्रो भाषिक समृद्धिको सदुपयोग एकाध स्थानमा नभएको हो की ? जस्तो भान हुन्छ । त्यसो त परसेप्सन, च्यालेन्ज, रिप्लाई जस्ता अंग्रेजी शब्दको प्रयोगले अनावश्यक रुपमा आगन्तुक भाषाको प्रयोग गरेकोजस्तो पाठकीय अनुभूति पनि हुन्छ ।
तर, सामान्य झैं लाग्ने यी नगन्य कमजोरीलाई कृतिभित्रका विषयवस्तुको उठान, ब्याख्या, विश्लेषणले छपक्कै छोपेको छ, हाम्रो परम्परा, संस्कृति, राजनीतिको यथार्थ जानकारी दिन कृति सबल छ । अनि लेखनका लागि हाम्रै आसपासमा थुप्रै विषयवस्तुहरु रहेछन्–जसबाट लेखकले समाजलाई परिस्कार, परिमार्जन, उन्नति, प्रगतिका लागि मार्गदर्शन गराउन सकोस्, प्रत्येक मानवले आफ्नो जीवन संघर्षको कथा लेखेर समाजमा चेतना भर्न सकोस्, सफल जीवनका लागि संघर्ष गर्न जानोस् र सदासर्वदा उन्नतिपथमा लम्किएर समाज र राष्ट्रका सामु आफू उदाहरणीय बन्न सकोस् भन्ने सन्देश प्रदान गर्न कृति सफल छ । प्रत्येक महिलाले आफ्नो जीवनकथालाई मात्रै शब्दजालमा उन्ने हो भने हाम्रो सामाजिक संस्कार पुस्तान्तरण हुन्छ, संघर्षका कथाले जीवन जिउने कला सिकाउँछ र जस्तोसुकै परिवेशमा पनि संघर्ष गर्न र सफलताका लागि पाइला चाल्न सिकाउँछ ।
कृतिमा रहेका रचनाहरु हेर्दैगर्दा लाग्दैन‘कोही पनि लेखक नयाँ हुन्।, वरु उनीहरु परिपक्व लेखक भइसकेका छन् कि जस्तो अनुभव हुन्छ । अन्त्यमा सप्तरङ्गी इन्द्रेणीको सुन्दरतामा मानिस जसरी रमाउन र हराउन सक्छ त्यसैगरी इन्द्रेणीका विषयवस्तुमा पाठकहरु हराउन र रमाउन सकुन्, साथै महिलाहरुको पहल र प्रयत्नमा प्रकाशन प्रारम्भ गरिएको इन्द्रेणीले प्रकाशनको निरन्तरतासँगै सारा आकाश र धर्ति ढाक्दै सबै लेखक÷पाठकहरुमा सप्तरङ्गी आनन्द प्रदान गर्न सकोस्, प्रधान सम्पादक मीरा काफ्ले पोखरेलसहित सम्पादन समूहमा रहनुहुने सम्पूर्णमा शुभकामना ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जन‘इन्द्रेणी’ लाई नियाल्दा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img